आफुलाई माझी बस्तीकाे अगाडि बदनाम गराउने षड्यन्त्र रचिएको श्वेताकाे आरोप

Published On: Sunday February 21, 2021

Published By: Kollywood Hangama

नायिका स्वेता खड्काले एकीकृत नमूना माझी बस्तीबाट आफूले हात नझिकेको बताएकी छिन् । भ्रम सिर्जना गर्ने केही व्यक्तिहरुले गलत सूचना प्रवाह गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको उनले प्रष्ट पारेकी छिन् । 

जस्तो सुकै विषम परिस्थितीमा पनि माझी बस्ति निर्माण सम्पन्न नगरी पछि नहट्ने प्रतिबद्धता जनाउँदै उनले यसको पारदर्शीतामा शंका गर्ने ठाउँ नरहेको बताएकी छिन् । केही व्यक्तिको निहित स्वार्थका कारण आफूलाई लाल्छना लगाउने गरि भ्रामक सूचना आएको भन्दै माझ बस्ती निर्माणका लागि आएको सहयोग अपचलन भएको भए आफू जुत्ताको माला र कालो मोसो लगाउन पनि तयार रहेको भन्दै आर्थिक हिनामिना भएको देखाउन चुनौती दिएकी छिन् । 

माझी बस्ती निर्माणसँगै यसमा स्थानीयको अपनत्व तथा आम्दानीका लागि होमस्टेको योजनासमेत रहेकाले कसैको भ्रममा नपर्न उनले आग्रह गरेकी छिन् । 

सरकारको अनुमति लिएर सम्पूर्ण मापदण्डभित्र रहेर बस्ती निर्माूण गर्दै गरेको र यसलाई जस्तो सुकै चुनौतिबीच पनि पूरा गरेरै छोड्ने उनले आफ्नो फेसबुक पेजका स्टास लेख्दै प्रतिबद्धता जनाएकी छिन् । 

माझी बस्तिप्रति आफ्नो अघाध स्नेह प्रकट गर्दै उनले आफ्नो मृत्युपछि माझी बस्ती नजिकै रहेको इन्द्रावतीमा अन्तिम संस्कार गर्न समेत आग्रह गरेकी छिन् ।

उनको स्टाटस जस्ताको तस्तै :

माझीबस्ती : यथार्थ र भ्रम
अहिलेका केही दिनहरुमा निर्माणाधीन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केही मिडियामार्फत भ्रामक समाचारहरु सम्प्रेषण भइरहेका छन् । श्वेताले माझी बस्तीबाट हात झिकिन् शिर्षकका भ्रामक समाचारहरुसँगै माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई  यहाँहरु सामु स्पष्ट पार्न चहान्छु ।

३ वर्ष अगाडि माझी बस्ती निर्माणका लागि अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडि र पछाडि मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसँग प्रसस्त धननै थियो ।  थियो त केवल आत्मविश्वास अनि शाहस । भूकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायलगायत मनकारी दाताहरुसँग जोडिदिने एउटा कडीको रुपमा आफूले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा, शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घच्घच्याएको थियो मलाई । त्यसकै परिणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, वाग्मती प्रदेश सरकारलगायत सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिहरुसँगको हातेमालोले  आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ । भूकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा  सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर श्वेताले माझी बस्तीबाट हात उठाइन् भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ । मैले यसलाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु । माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिँदै गरेको सत्यलाई मैले बुझेको छु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, विभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवालाई हतोत्साहित गर्ने अनि टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रासमेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछानी अन्तर्वार्ता लिएर एकीकृत बस्ती विकासको कार्यलाई  थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन् । यसलाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन् ।  नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानीय युवाको जमातलाई सोध्दा हुन्छ । 

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेको छु । तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु । तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेको छ ? त्यसको बारेमा झिनो जानकारीसमेत नलिई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाइ खेद्ने, लखेट्ने र विचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनै छु ।  

हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोकिँदै गर्दा चुईक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन् तैंले त्यो बस्तिमा के योगदान गरिस् ? मैले बस्ती निर्माणको काम रोकिँदै गर्दा ब्यक्तिगत रकम ३२ लाख रुपैयाँ दिएर काम सुचारु गरेको छु । विभिन्न दाताले घर बाहेकका पूर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खातामार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौं पटक  सिहँदरवार धाएको छु । कैयौं मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पछिमात्र माझि टोलमा सहयोगहरु पुगेको हो । बस्ति निर्माणका क्रममा आएका कैयन बाधाहरुसँग नडराइ अनि हरेश नखाई  जुधेको छु ।  जीवनमा कसैसँग हात फिँजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकी छु । तर, आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझी टोलकै उपभोक्ता समितिमार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्थानीय उपभोक्ताहरुको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौंको कारोबार भएको देखिन्छ ।
यो परियोजना माझी टोललाई जबरजस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्थानीय उपभोक्ता समितिसँग भलाकुसारी गर्नुपर्ने हुन्छ । 

बस्ती निर्माण पूर्व नै ८ वटा घरको डिजाइनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानीयवासी नै हुन् । नेपाल सरकारबाट भूकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रैबाट बन्ने घरका डिजाइन पनि नदेखाइएको होइन । तर, त्यो रकमबाट बन्ने घर अति नै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानीयवासिहरुकै सहमतिमा हालको घरको डिजाइन तयार गरिएको हो । घर निर्माणको लागि  प्राविधीकहरुले तयार गरेको  अनुमानित लागत ८ लाख २५ हजार थियो । केही दाताहरुले  ढोकालगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्धता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् । घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो । सरकारी अनुदान बाहेक अन्य नपुग रकम ४ लाख ऋण स्वरुप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ । अतः यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्नेलगायत निर्माणको लागि आवश्यक इकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पूर्वसहमति भएकै हो । घर बाहेकका नयाँ पूर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्यांकी निर्माणको कार्यमा भने स्थानीय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले विभिन्न निकायहरुसँग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमति जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमति अनुसार कार्य भएकैछ । अतः घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तिले  अहिले आएर आफूलाई नयाँ घर घाँडो भएको भन्नु कतिसम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकीकृत बस्ती विकासको यो मोडल दिगो विकासको सफल मोडल पनि हो ।

एनजीओहरुले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्न जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो । चार लाख ऋण बोकेका माझी परिवारले ऋणमात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । बस्ती निर्माणपूर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेको छ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरु छन् । त्यसो त, माझिहरुले बोकेको ऋणको भारी तिर्नको लागि होम स्टेको परिकल्पना गरिएको छ । जसले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र ऋण तिर्न सहजता आउनेछ । यसको लागि भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अतः दूरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यसको बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला ? 
यतिखेर माझी टोलमा इट्टा र सिमेन्टजडित भौतिक पूर्वाधारहरु मात्र बनेका छैनन्  ।  बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि सशक्त बन्दै गएका स्थानीयवासिहरुले आफूमा आएको  मानसिक र बौद्दिक विकासको मुल्यांकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मानसिक सशक्तिकरण कहिल्यै भत्किँदैन ।

अतः बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनि कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुने छैन । माझी टोलबाट हात झिकी भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु, जवसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन । मेरो अतिम इक्षा म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्यष्टी त्यहीँ गरियोस् ।

Share This
  • 387
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    387
    Shares